अन्ततःसरकारले ३० दिनसम्मको लागि संकटकाल घोषणा

बिश्व समाचार

युक्रेन सरकारले संकटकालको घोषणा गरेको छ। रुसी आक्रमणको आशंकाबीच युक्रेनले ३० दिनसम्म संकटकाल घोषणा गरेको एएफीले जनाएको छ।यो आपतकालीन अवस्थाको अवधि बढाउन पनि सकिनेछ। रुसले पूर्वी युक्रेनका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य घोषणा गर्दै त्यहाँ आफ्ना सेना पठाएपछि युक्रेनले संकटकाल घोषणा गरेको हो।

मंगलबार नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनको सार्वभौमिकतामाथि प्रहार गरेको आरोप लगाउँदै आफ्नो देशको भूमिको रक्षा गर्ने बताएका थिए।यसको अर्थ रुसी सेना सो दुई क्षेत्रमा पुगे युक्रेनले त्यसको प्रतिवाद गर्दा दुई देशबीच युद्ध हुनसक्छ। युद्धको अवस्था निम्तिएकाले नै युक्रेन सरकारले संकटकाल घोषणा गरेको हो।

आज मात्र युक्रेनले अमेरिकाले रुसको प्रतिकार गर्न पुग्दो हतियार आपूर्ति गर्ने जानकारी दिएको थियाे।स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका थिए। रुसले सो क्षेत्रमा अब शान्ति स्थापना गर्ने र कसैले आक्रमण गरे आफूले प्रतिक्रिया जनाउने पनि चेतावनी दिइसकेको छ।

वास्तवमा रुस यो चाहँदैन कि युक्रेन अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नेटोमा आवद्ध होस्। रुसले युक्रेनको दक्षिणी हिस्सा क्राइमिया कब्जा गरेको आठ वर्षपछि यो नयाँ संकट देखिएको हो।सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *