एक लाख १९ हजार म्यादी प्रहरी भर्ना:९८ हजारसम्म तलब,२५ लाखको बिमा

समाचार

सरकारले स्थानीय तह निर्वाचनका लागि एक लाख १९ हजार म्यादी प्रहरी भर्ना खुलाउने भएको छ ।भर्ना भएका म्यादी प्रहरीलाई ९८ हजारसम्म तलब र २५ लाखको बिमा तोकिएको छ । म्यादी प्रहरी भर्नामा पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिने मापदण्ड तयार भएको छ । आगामी ३० वैशाखका लागि घोषित निर्वाचनका लागि तयार गरिएको ‘म्यादी प्रहरी भर्ना छनौट मापदण्ड–२०७८

सरकारले स्थानीय तह निर्वाचनका लागि एक लाख १९ हजार म्यादी प्रहरी भर्ना खुलाउने भएको छ ।भर्ना भएका म्यादी प्रहरीलाई ९८ हजारसम्म तलब र २५ लाखको बिमा तोकिएको छ । म्यादी प्रहरी भर्नामा पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिने मापदण्ड तयार भएको छ ।

आगामी ३० वैशाखका लागि घोषित निर्वाचनका लागि तयार गरिएको ‘म्यादी प्रहरी भर्ना छनौट मापदण्ड–२०७८ २०७९’ को खाकामा म्यादी प्रहरी भर्ना गर्दा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने व्यवस्था राखिएको हो ।म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

‘मापदण्ड प्रहरी प्रधान कार्यालयले बनाइरहेको छ, अन्तिम टुंगो लागिसकेको छैन । उहाँका अनुसार मापदण्डमा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने व्यवस्था राखिएको छ ।’मापदण्डको दोस्रो प्राथमिकतामा पूर्व वनरक्षक र सेना, प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएर शारीरिक परीक्षणमा पनि सहभागी भएकाहरु पर्ने भएका छन् । तर उनीहरुले शारीरिक परीक्षणमा सहभागी भएको प्रवेश पत्रको प्रतिलिपी पेश गर्नुपर्ने भनिएको छ ।

विभिन्न छिमेकी मुलुकको सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका सुरक्षाकर्मीलाई पनि प्राथमिकता दिने मापदण्डमा व्यवस्था गरिएको छ । विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरिसकेका व्यक्ति पनि प्राथमिकतामा पर्ने मापदण्डमा उल्लेख गरिएको छ ।गृह मन्त्रालयका अनुसार २०७४ सालको निर्वाचनमा ९९ हजार ९५५ म्यादी प्रहरी भर्ना गरिएको थियो । अहिले देशभर एकै चरणमा निर्वाचन हुँदा थप जनशक्ति चाहिएकाले थप २० हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयको छ ।

निर्वाचन आयोगले पूर्वतयारीबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दा कोरा जनशक्ति भर्ना गर्नुको सट्टा सेवानिवृत्त तालिम प्राप्त राष्ट्रसेवकहरुलाई प्रयोग गर्न सुझाव दिइएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार म्यादी प्रहरीको भर्ना प्रक्रिया सम्भवतः फागुन मध्य वा अन्तिमबाट सुरु हुनेछ । ‘यसपटक एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव गरिएको छ । ‘निर्वाचनमा नियमित जनशक्तिबाट मात्र सुरक्षा प्रदान गर्न पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।’

प्रहरीले तयार पारेको म्यादी प्रहरीको प्रारम्भिक छनौट मापदण्ड अनुसार जिल्ला–जिल्लाबाट म्यादी प्रहरी भर्ना गरिनेछ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाउने प्रस्ताव छ ।म्यादी प्रहरीलाई नियुक्ति दिएको दिनदेखि ५० दिनसम्म काममा लगाइने मापदण्डमा उल्लेख छ । नियुक्त भएका म्यादी प्रहरीलाई छिमेकी जिल्लामा खटाइने व्यवस्था मापदण्डमा राखिएको छ । सोही जिल्लामा राखिने छैन ।

यसपटक म्यादी प्रहरीको पोशाकका लागि उपलब्ध गराइने रकम पनि बढाइएको छ । विगतमा तीन हजार रुपैयाँ दिने गरिएकामा अब ५ सय रुपैयाँ थप गर्न प्रस्ताव गरिएको छ । म्यादी प्रहरीले पाउने सुविधाको ५० प्रतिशत रकम ३० दिन काम गरेपछि र बाँकी काम सकिएपछि भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *