नेपालमै पहिलो पटक क्यान्सर रोग विरुद्धको औषधि बिक्रीवितरण सुरु

समाचार

नेपालमै पहिलो पटक क्यान्सर रोग विरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ ।टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिनुभयो ।टिजिग क्यान्सर रोगवि-रुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । कम्पनीको उद्योग काभ्रेको बनेपामा रहेको छ । भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब (एसपिएएल)सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर कम्पनीले क्यान्सरविरुद्धको औषधि उत्पादन गरेको हो ।

कार्यकारी निर्देशक वैद्यले अहिले बजारमा ट्याब्लेट र क्याप्सुलको औषधि उत्पादन गरिएको बताउनुभयो ।उहाँले खोप (इन्जेक्सन)मा आधारित औषधि पनि चाँडै नै बनाउने योजना रहेको जानकारी दिनुभयो । कम्पनीले अहिले नेपाल भित्रै बिक्रीवितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ । `अहिले हामी मुखबाट खान मिल्ने औषधि अर्थात् ट्याबलेट र क्याप्सुल बनोटमा पठाएका छौँ । खोप (इन्जेक्सन) पनि उत्पादन गर्ने तयारीमा रहेका छौँ´, उहाँले भन्नुभयो ।

कार्यकारी निर्देशक वैद्यले आफूले उत्पादन गरेको औषधि विदेशबाट आएकोभन्दा सस्तो हुने बताउनुभयो । `हामीले उत्पादन गरेका औषधि यसअघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हट्नेछ´, उहाँले भन्नुभयो, `उही औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत दरमा दिनेछौँ ।´उहाँले नेपालमै उत्पादन हुने भएपछि औषधिको अभाव पनि नहुने बताउनुभयो । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। विष्णुदत्त पौडेलले क्यान्सर रोगवि-रुद्धको औषधि नेपालमै उत्पादन हुनु राम्रो भएको भन्दै औषधिको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।

क्यान्सर रोग विशेषज्ञ डा। मदन पियाले नेपालमा नै क्यान्सर रोगविरुद्धको औषधि उत्पादन हुनु सबैका लागि खुशीको कुरा रहेको र औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजंग पाण्डेले स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने कुरा पछिल्लो पटक क्यान्सरको औषधि उत्पादन हुनुले प्रमाणित भएको बताउनुभयो ।उहाँले नेपालमा क्यान्सरजस्तै अरु औषधि उत्पादन गरेर मुलुकलाई औषधिमा आत्मनिर्भरता बनाउनुपर्ने बताउनुभयो । औषधि व्यवस्था विभागका सन्तोष केसीले उत्पादन भएको औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *