ओमिक्रोन भेरिअन्टको सङ्क्रमण रोकथामका लागि विदेशबाट आउने सबै यात्रुलाई “अनिवार्य होटल क्वारन्टीन”को व्यवस्था गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ताले बताएकी छन्।अध्यागमन विभागले ६७ देशबाट आउने यात्रुले अनिवार्य होटल क्वारन्टीन बस्नुपर्ने सूचना निकालेर २४ घण्टा नबित्दै त्यसलाई स्थगित गरेका बेला स्वास्थ्य प्रवक्ताले उक्त जानकारी दिएकी हुन्।
अध्यागमन विभागले शुक्रवार अमेरिका, क्यानडा, यूके, रुस, कोरियालगायतका देशहरूसमेत कुल ६७ देशबाट आउने यात्रुले सात दिन होटलमा अनिवार्य क्वारन्टीन बस्नुपर्ने सूचना निकालेको थियो।तर शनिवार बिहानै विभागले उक्त व्यवस्था “अर्को निर्णय नहुन्जेल लागु नहुने” जानकारी दिँदै सूचना निकालेको छ।
शुक्रवार अध्यागमन विभागले मङ्सिर १३ गते मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयका आधारमा भन्दै त्यस्ता देशहरूको सूची निकालेको थियो।उक्त सूचना आएपछि सामाजिक सञ्जालमा कैयौँले त्यसको आलोचना पनि गरेका थिए।अध्यागमन विभागले सार्वजनिक गरेको र हाल स्थगित उक्त सूचनामा विभिन्न ६७ वटा देशको सूची दिइएको थियो।
सूचनामा ती देशहरूबाट आउने यात्रुहरूले “आफ्नै खर्चमा सात दिन होटल क्वारन्टीनमा बसी कोभिड-१९ को आरटी-पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने” उल्लेख थियो।त्यस्तो परीक्षणको नतिजा नकारात्मक आएमा सात दिनपछि थप सात दिन घरमा क्वारन्टीन बस्न पाउने गरी त्यस्ता यात्रुले जान पाउने बताइएको थियो।
यदि कसैमा सङ्क्रमण देखिए तोकिएको आइसोलेशन केन्द्र वा अस्पताल पठाइने सूचनामा उल्लेख गरिएको थियो।सूचना सच्याउनुको कारणबारे अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने, “मंसिर १३ गते बसेको मन्त्रिपरिषद् निर्णयबाट दक्षिण अफ्रिका क्षेत्रका ९ वटा देशका मान्छेहरूलाई प्रवेश रोक लगाउने निर्णय भएको थियो।”
“त्यसैमा स्वास्थ्य मन्त्रालयले हरेक १५ दिनमा ओमिक्रोनको सङ्क्रमणको विश्लेषण गरेर जोखिमयुक्त देशको सूची निर्माण गर्ने र सो अनुसार ट्राभल एड्भाइजरी जारी गर्नलाई अध्यागमन विभागलाई लेखी पठाउने भन्ने निर्णय पनि भएको थियो।””त्यसै अन्तर्गत हामीले स्वास्थ्य मन्त्रालयबाट त्यो सूची प्राप्त गर्यौँ। त्यो आधारमा हामीले यो सूचना निकाल्यौँ।”