डिग्रीको थेसिस प्रतिकिलो १२ रुपैयाँमा बिक्री

समाचार

७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको सोधपत्र (थेसिस) लेख्ने विद्यार्थीले तीन प्रति थेसिस विश्वविद्यालयमा बुझाउनुपर्छ । एक प्रति क्याम्पसमा, एक प्रति केन्द्रीय पुस्तकालयमा र एक प्रति परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्छ ।यसरी विद्यार्थीले बुझाएको थेसिस परीक्षा नियन्त्रण कार्यालयले भने पुराना कागजको रुपमा उद्योगलाई बिक्री गर्ने गरेको पाइएको छ । कार्यालयले राख्ने ठाउँको अभाव भएको कारण देखाएर विद्यार्थीले बुझाएको थेसिस र उत्तरपुस्तिका कागज उद्योगलाई बेच्ने गरेको हो ।परीक्षा नियन्त्रक पुष्पराज जोशी थेसिस बेच्ने प्रचलन २०५६ सालदेखि नै रहेको बताउँछन् । उनका अनुसार केन्द्रीय पुस्तकालयमा बुझाएको थेसिस सुरक्षित हुने भएकाले परीक्षा नियन्त्रण कार्यालयमा बुझाएको थेसिसचाहिँ नतिजा प्रकाशन भएको चार महिनापछि बेच्ने गरिएको छ ।

‘भविष्यमा रेफरेन्सका लागि केन्द्रीय पुस्तकालयको प्रयोग हुन्छ । हाम्रो चाहिँ रिजल्ट भएपछि छ महिना भन्दा बढी राख्ने स्थान हुँदैन । भाषा विज्ञान प्रतिष्ठान र योजना आयोगले आवश्यक परेको लैजान्छ । बाँकी रहेको हामीले गोपनीयताका साथ डिसमेन्टल गर्छौ’ परीक्षा नियन्त्रक जोशीले भने ।परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका र थेसिस पहिले पुराना कागज संकलकहरुलाई नै बिक्री गर्ने गरेको थियो । त्यसो गर्दा बदाम र चना चटपटे बेच्नेको हातमा पनि पुगेको भेटिएपछि कागज उद्योगलाई बिक्री गरेको परीक्षा नियन्त्रक जोशी बताउँछन् ।विद्यार्थीले बुझाएका शोधपत्र परीक्षा नियन्त्रण कार्यालयमा प्रयोजनविहीन हुने उनले बताए । ‘हामी गोपनीयताका साथ टुक्रा बनाएर पेस्ट बनाउने सर्तमा मात्रै दिन्छौं । त्यसको फेरि कागज नै बन्ने हो’ जोशीले भने ।

परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका र थेसिस पहिले पुराना कागज संकलकहरुलाई नै बिक्री गर्ने गरेको थियो । त्यसो गर्दा बदाम र चना चटपटे बेच्नेको हातमा पनि पुगेको भेटिएपछि कागज उद्योगलाई बिक्री गरेको परीक्षा नियन्त्रक जोशी बताउँछन् ।परीक्षा नियन्त्रक कार्यालयले आफूलाई बुझाएको थेसिस कहिल्यै सुरक्षित गरेर राखेको छैन । ०५६ सालअघि यस्ता थेसिस र उत्तरपुस्तिका खाल्डो खनेर पुर्ने गरेको परीक्षा नियन्त्रक जोशी बताउँछन् ।

‘यसरी पुर्दा २०/३० हजार खर्च हुन्थ्यो अहिले केही नभए वर्षको दश लाख रुपैयाँ (थेसिस र उत्तरपुस्तिका बेचेर) जत्ति आउँछ । वेस्टेज भएको चिज फेरि प्रयोग पनि हुने भयो । त्रिविको आयस्रोत पनि बढ्यो’ उनले भने ।पनिकाले ०५६ सालमा प्रतिकिलो ४ रुपैयाँमा बेच्ने गरेको थेसिस र उत्तरपुस्तिका हिजोआज प्रतिकिलो १२ रुपैयाँमा बिक्री गरिने परीक्षा नियन्त्रक जोशीले बताए । परीक्षा नियन्त्रण कार्यालयमा शोधपत्र मात्रै वर्षको २० देखि ३० हजार प्रति जम्मा हुने गर्छ । वर्षमा ३० देखि ४० लाख उत्तर पुस्तिका जम्मा हुने भएको र राख्ने स्थान नहुने भएकाले कागज उद्योगलाई बेच्ने गरेको उनको दाबी छ ।

पुस्तकालय प्रमुख भन्छन् : गलत हो। त्रिविको केन्द्रीय पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ विद्यार्थीले मिहेनत गरेर बुझाएको शोधपत्र कागज उद्योगलाई बेच्नु गलत भएको बताउँछन् । ‘मैले पनि समाचार पढेर थाहा पाएँ, तर त्यो राम्रो भएन । शैक्षिक हिसाबले सोच्दा ठीक होइन’ उनी भन्छन् ।राख्ने ठाउँ नभए शोधपत्र बुझ्ने नयाँ उपाय खोज्नुपर्ने उनको भनाइ छ । ‘राख्ने ठाउँ साँघुरो होला, तर नयाँ उपाय ल्याउनुपर्‍यो । हार्डकपीको सट्टा सफ्टकपी बुझनुपर्‍यो । त्यसलाई डिजिटलाइज्ड गर्न पनि सहज हुन्छ’ श्रेष्ठ भन्छन् ।

केन्द्रीय पुस्तकालयले पनि ६ वर्षयता स्नातकोत्तर तहको थेसिसको सफ्ट कपी मात्र बुझ्ने गरेको छ । केन्द्रीय पुस्तकालयले पुराना शोधपत्र, अध्ययन रिपोर्टलाई पनि डिजिटलाइज्ड गरिरहेको छ । ५०–६० हजार थेसिसमध्ये २५ प्रतिशत मात्र डिजिटल गरिएको प्रमुख श्रेष्ठले बताए ।डीन कार्यलयमा, केन्द्रीय विभागहरुमा र कलेजमा भएका सोधपत्र र अध्ययन प्रतिवेदन पनि डिजिटल बनाउनु उपयुक्त हुने उनको भनाइ छ । ‘सकियो भने जहाँ जहाँ डकुमेन्ट छ त्यहाँबाट अपलोड गर्ने नभए हामी कहाँ पठाइदिनुहोस हामी गर्छौं भनेर अभियान थालेका छौं’ पुस्तकालय प्रमुख श्रेष्ठले भने ।

विद्यार्थीलाई नै फिर्ता दिनु वेश। विद्यार्थीले मिहेनत गरेर तयार गरेको शोधपत्र बेच्नु गलत भएको पूर्वशिक्षा सचिव महाश्रम शर्मा बताउँछन् । उनले बेच्नुभन्दा सम्बन्धित विद्यार्थीलाई नै फिर्ता दिनु उपयुक्त हुने सुझाव दिए ।‘विद्यार्थीले धेरै मिहेनत गरेर तयार गरेका हुन्छन् । यदि पनिकामा राख्ने स्थानको अभाव भए आवश्यक जाँचपछि सम्बन्धित विद्यार्थीलाई नै फिर्ता दिनुपर्छ । बेच्नु ठीक होइन’ शर्माले भने ।

शिक्षाविद् विद्यानाथ कोइराला परीक्षा नियन्त्रण कार्यालयले डिजिटल कपी माग्नु उचित हुने सुझाव दिन्छन् । त्यो सम्भव नभए क्याम्पसले गरेको सिफारिसका आधारमा नतिजा प्रकाशन गर्ने वा नतिजा लिन आउँदा सम्बन्धित विद्यार्थीलाई नै थेसिस फिर्ता दिन सकिने उनको भनाइ छ ।‘विद्यार्थीसँग अनेक खर्च, मिहिनेत गराएर लिने अनि केही समयपछि आफूले बेच्नु भनेको बद्मासी हो । प्रिन्ट, बाइन्डिङलगायतको खर्च गराएर लिने अनि राख्ने ठाउँको अभाव भएको भन्दै बेच्नु विद्यार्थीप्रति अन्याय हो’ शिक्षाविद् कोइरालाले भने ।श्रोत:onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *