१२ सय तलबमा दुबई पुगेकी महिलाको एक वर्षभित्रै ५५ सय दिराम पुग्यो तलब,हेर्नुहोस कारण यस्तो रहेछ

समाचार

मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु । मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ । काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ

पढाईतिर ब्यस्त भएकाले मैले चासो पनि दिइन उताबाट पनि कुनै प्रतिक्रिया आएन ।एक वर्षपछि एक्कासी फोन आयो, दुबईको सेको कम्पनीबाट होटल वेट्रेसको डिमान्ड आएको रहेछ । जानका लागि कत्ति पनि खर्च नलाग्ने र खान बस्न पनि पाइने रहेछ । मैले वेट्रेसमा जान्न भनें । म्यानपावरका मोहित थापाले अफिसमा नै बोलाउनुभयो । उहाँले मलाई सबै कुरा बताउनुभयो ।

त्यहाँको पुरै भिजुअल पनि देखाउनुभयो । त्यहाँ रक्सी खान नपाइने रहेछ, केटी मान्छेलाई सुरक्षित पनि रहेछ । मेरो आर्थिक अवस्था पनि निकै कमजोर भइसकेको थियो । यसो सोच्दा ठिकै जस्तो लाग्यो । मैले खर्च कति लाग्छ भनेर सोधें । उहाँले पैसा लिँदैनौं भन्नुभयो । म त्यतिबेला बिबिएस तेस्रो वर्षको परीक्षा दिएर बसेकी थिएँ ।आर्थिक अवस्था कमजोर भएकाले मैले विदेश नै जाने निर्णय गरिसकेको थिएँ । बरु त्यहाँ गइसकेपछि कसरी सुरक्षित हुन सक्छु भन्ने मात्रै सोचें ।

मेरो सुरक्षाका लागि म्यानपावर र काम दिने कम्पनीले के के गर्छ भन्ने पनि बुँझे । हामी ८ जना सँगै गएका थियौं । मैले कम्पनीलाई जम्मा १० हजार दिएको थिएँ । मसँगै जाने अरु साथीहरुसँग भने कम्पनीले ८०/९० हजारसम्म लिएको रहेछ । मैले धेरै कुरा बुझ्न खोजेको शैक्षिक योग्यता पनि राम्रो भएकाले मसँग पैसा नलिएको थाहा पाएँ ।त्यहाँ गइसकेपछि हाम्रो काम र तलबमा फरक भने परेन ।

८ घण्टा काम र १२ सय दिराम तलब दिने भनिएको थियो । गएको तीन दिनमा मलाई सुपरभाइजरले बैंकेट हलमा लिएर जानुभयो । त्यहाँ सर्भिस गर्ने क्रममा गेस्टहरु निस्किसक्नुभएको थियो, दुई/तीनजना मात्रै हुनुहुन्थ्यो । त्यो समय रमादानको थियो । दुबईको पे्रसिडेन्टले रमादानको शुभकामना दिएको दृश्यहरु टेलिभिजनमा देखाइएको थियो । मैले त्यतिबेला झलक्क आफ्नो देश सम्झिएँ ।

टिभी हेर्न पाउँदिन भन्ने मलाई थाहा थिएन । त्यतिबेला एक जना महिलाले मलाई हातले इसारा गर्नुभयो । तर मैले उहाँको इसारा बुझिन र बाहिर निस्किएँ । तर उहाँले सेक्युरिटी मेनेजर समक्ष मेरो बारेमा कम्प्लेन गर्नुभएछ । उहाँले त्यो टिभी अघिको केटा मान्छे आफ्नो श्रीमान भएकाले त्यता नहेर भन्नुभएको रहेछ । त्यो थाहा पाएर मलाई दुख लाग्यो । सेक्युरिटी म्यानेजरले ड्युटीमा हुँदा टिभी हेर्न हुँदैनथ्यो, अब सरी भन भन्यो र म सरी भनेँ । त्यहाँको नियम पनि नराम्रो होइन । टिभी हेर्दा मैले जुन आरोप खेपेँ त्यहाँबाट मैले शिक्षा पनि पाएँ ।

कतिपय अवस्थामा घर मालिक र हाउसमेडबीच द्वन्द्व पनि यही कारणले हुँदो रहेछ ।मीलाई ड्युटी आवरमा पत्रपत्रिमा पढ्ने, टिभी हेर्ने छुट थिएन । ड्युटी सकिएपछि भने टिभी हेर्न पाउँथ्यौं । बस्ने ठाउँमा नै टिभी थियो । हामी विभिन्न देशका मानिसहरु सँगै बस्थ्यौं । म समाचारमा अलि अपडेट हुन चाहन्थें । मलाई चाँही नेपालमा समाचारमा पढेको जस्तो महिलाहरु खाडी देशमा कसरी असुरक्षित हुँदा रहेछन् भन्ने कुरा जान्न मन लाग्यो । काम गर्दागर्दै पढेर एमबिए पास गरेँ मैले त्यहाँ पत्रिका लुकाएर राति सुत्ने बेलामा पढ्थेँ ।

त्यहाँ एउटा विज्ञापन देखेँ । जागिर खाइरहेकाहरुले पनि पढ्न पाउने व्यवस्था थियो । मैले त्यहाँ गएर एमबिए भर्ना भएँ । पहिल्यै काम गरिरहेकाहरुले मलाई पागल भने । मैले त्यहीको अर्को इन्ष्टिच्यूटमार्फत एमएस विश्वविद्यालय एमबिए पास गरेकी हुँ । बिहीबार राति ३ बजेसम्म ड्युटी गरेर शुक्रबार विहान क्लास लिन जान्थें । शुक्रबार एक दिनमात्रै क्लास हुन्थ्यो ।

कलेज जान २ वटा बस फेरेर जानुपर्थ्यो । शुक्रबार सबै नमाज पढ्न जान्थे । पसलहरु पनि बन्द हुन्थ्यो । ट्याक्सी चढ्न क्षमता थिएन । म त्यो गर्मीमा आधा घण्टा हिँडेर जान्थें । पानी समेत नपिइ बस स्टेशनसम्म जान्थें । म अचेत अवस्थामा बसमा पुग्दा ड्राइभरहरुले पानी किनेर समेत खुृवाएका छन् । त्यो अवस्थामा पनि मैले पढ्न छोडिन । तर कलेज पढ्न थालेको तीन/चार महिनामै मेरो प्रमोशन भयो । १२ सयको तलब बढेर एक वर्षभित्रै ५५ सय दिराम पुग्यो।अहिले म गैर आवासीय नेपाली संघ (एनआरएन) महिला सब कोअर्डिनेटर पनि हुँ । मैले कुवेत र ओमनको भ्रमण गरेको छु । दुबईमा हामी हरेक शुक्रबार हाउसमेड महिलाहरुसँग कुरा पनि गर्थ्यौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *