फेरी बढ्न थालें पोस्ट कोभिडका विरामी।नेपालमा बढ्दै खतरा?

समाचार

स्वास्थ्य कार्यालयका एक स्वास्थ्यकर्मीलाई ‘पोस्ट कोभिड’ को लक्षणले हैरान बनायो । तत्काल काठमाडौं पुगेर उपचार गरेपछि निको भएर फर्किए । ९ दिन अस्पताल बसेका उनले कोरोना संक्रमण हुँदाभन्दा बढी सास्ती भोगे । उपचारमा पनि लाखौं खर्च गर्नुपर्‍यो । उनी जस्तै कोरोना निको भएपछि लामो समयसम्म विभिन्न समस्याले ग्रस्त बन्नेहरू जिल्लामा बढ्न थालेका छन् ।

संक्रमणमुक्त भएपछि पनि अधिकांशमा लामो समयसम्म समस्या देखिने गरेको पाइएको धौलागिरि अस्पतालका कोभिड फोकल पर्सन डा.अभिषेक वाग्लेले बताए । ‘कोरोना लागेका बिरामीको फोक्सो र मुटुमा पछिसम्म समस्या आउन सक्छ,’ उनले भने, ‘सचेतना र नियमित उपचार तथा निगरानी आवश्यक पर्छ ।’ उनका अनुसार संक्रमणमुक्त भएकामा रगत जम्ने खतरा बढी हुन्छ ।

रगत बाक्लो हुँदा वा जम्दा पक्षघात हुन सक्ने, फोक्सो र मुटुमा असर परेर मानिसको ज्यानै जानसमेत सक्ने अवस्था आउन सक्छ । ‘अहिले ओपीडीमा दैनिकजसो आउने बिरामीले कमजोरी भएको र मानसिक समस्या भएको बताउन थालेका छन्,’ उनले भने, ‘खोकी निरन्तर लाग्ने, थाक्ने र कमजोरी हुने समस्या धेरैमा देखिएको छ ।’ संक्रमणमुक्त भएपछि पनि खानपान र काम गराइमा ध्यान दिन उनले सुझाए ।

अस्पतालले पोस्ट कोभिडका बिरामी आउन सक्ने अनुमान गरेरै ओपीडीमा गरिने डायग्नोसिसमा यसअघि संक्रमण भए–नभएको अवस्था बुझ्ने सूचकसमेत बनाएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । ‘संक्रमितमा पछिसम्म फोक्सोको समस्या बढी देखिन्छ, यो विषय हामीले अलि गम्भीर रूपमा लिन्छौं,’ उनले भने, ‘मानसिक रूपमा विक्षिप्त हुने, मनोरोग लाग्ने अवस्था पनि धेरै छ ।’

श्वासप्रश्वासमा बढी समस्या आउने, हिँड्न नसक्ने, दीर्घरोगसमेत लाग्न सक्ने भएकाले बढी चासो दिइएको उनको भनाइ छ । ‘शरीरमा एन्टीबडी बढी हुँदा पनि समस्या आउन सक्छ तर त्यो अवस्था भने खासै छैन,’ उनले भने, ‘खोप लगाएको, संक्रमणमुक्त भएको अवस्थामा पनि बिरामीलाई खानपानले रियाक्सन गर्न सक्छ । वाकवाकी लाग्ने, ज्वरो आउने यसका लक्षण नै हुन् ।’ अहिले पोस्ट कोभिडका बिरामी अस्पतालमा भर्ना भने नभएको उनले जनाए । ‘तर दैनिक १/२ जना बिरामी अस्पताल आइरहेका छन्,’ उनले भने ।

संक्रमणमुक्त भइसकेपछि आँखामा कालोढुसीसमेत आउने गरेको चिकित्सक बताउँछन् । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ उपचार पद्धतिभन्दा पोस्ट कोभिडबारे जनचेतना आवश्यक रहेको बताउँछन् । ‘कोभिड भएको व्यक्तिले खानपान र जीवनशैलीमा केही सतर्कता अपनाउनुपर्छ,’ उनले भने।श्रोत:ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *