‘गलत मान्छेलाई प्रेम गरिएछ यार,करिअर बनिसक्ने बेला डुब्यो!’

समाज

वसन्त आचार्य-तुलसीपुर उच्च अदालतबाहिर चमेना गृहमा भेटिएको मेरो स्कुले साथी आधा खुसी आधा बेखुसी अनुहारमा मलाई सुनाउँदै थियो ‘साला प्रेम भन्नु नै संसारको सबभन्दा ठूलो भ्रम रहेछ यार,

डुबायो मलाई नराम्रोसँग डुबाय’ अनुहारले झरी पार्न आँटेको थियो तर पनि उसले मन दह्रो बनाएर भरथेग गर्यो, आँसुले ठाउँ छाड्ने हिम्मत गरेनन् ।‘प्रेमको उत्पत्ति रमाउनका लागि भन्दा पनि मन दुखाउनका लागि भएको हो जस्तो लाग्छ’ चियाको सर्को तान्दै उसले भन्यो ।

प्रेमका बारेमा उसको परिवर्तित दृष्टिकोणलाई उसले यसरी भोगाइबाट पुष्टि गर्यो । तीन वर्ष अगाडि उसले जुन कुरालाई सुख र खुसीको मूल स्रोत मान्थ्यो आज त्यो दुःख र पीडाको व्युत्पन्न स्रोत बनेको छ ।संसारका हरेक कुरामा प्रेमको बिम्व देख्थ्यो । अनि सागरमा पनि अटाउन नसकिने प्रेम उसले एउटै अनुहारमा अटाएको थियो ।

विवाहमा मलाई पनि बोलाएको थियो । म जान सकिनँ तर फोनमा निकै उत्साहित थियो ‘उमेर ढल्केर बिहे हुँदा पनि खुसी छु यार दोस्त मनले खाएको मान्छे पाइयो, यत्तिको माया गर्ने मान्छे मेरो जीवनमा कोही हुन सक्दैन’ उसको उत्साहको उचाइ देखेर मैले सुझावभन्दा पनि बनावटी ढाडस दिएँ, ‘हो यार, तँ संसारका भाग्यमानीहरूको सूचीमा पर्छस्,

के गर्नु त संसारमा सबभन्दा धेरै खुसी भएको दिनको साक्षी बन्न सकिनँ मलाई माफ गर ।’ आज त्यही मान्छे, त्यही आवाज तर शब्द फरक छन् ‘गलत मान्छेलाई प्रेम गरिएछ यार करिअर बनिसक्ने बेला डुब्यो’ । निराशाको एक टुक्रो बादल उसलाई पूरै छोएर दौडेको छ ।

‘बाँच्न पनि मन लाग्दैन’ हिजो जीवन देख्ने मान्छेको अनुहारमा आज मृत्यु देखिरहेको छ । जसलाई देख्दा शरीरका हरेक अंगअंगमा खुसी उत्पादन हुन्थ्यो आज त्यसैले आँसु र बह उत्पादन गरिरहेको छ । माया गर्नेले मायामात्रै गर्छ भन्ने भ्रमले साथीलाई कहिल्यै छाडेन र त दुःखले पनि छाडेन ।

विवाहपश्चात प्रेममा एकलौटी हक स्थापित गर्न खोज्दा हुने अनेक दुर्घटनाले उसलाई पनि छाडेन । मान्छेको मन न हो, प्रेमले काकाकुल हुँदा एकधर्को सिन्दुरको त्रासमा को बसिरहोस् ।‘तैंले विवाहपछि प्रेममा एकलौटी गर्न खोज्नुको परिणाम हो’ म अलि कठोर बनें ।

उसले अनुहारमा रिस बोलाएर भन्यो ‘विवाह गरेपछि के मैले अरुलाई पनि प्रेम गर्ने अधिकार दिने त ?’‘उसले तँबाट प्रेमको पूर्ति महसुस गर्न सकिन भने दिनुपर्दछ, जसरी तैले पाएको छस्’ बहस विवादमा अगाडि बढ्ला भनेर ऊ सजग भयो । मैले एकतर्फी रूपमा निरन्तरता दिइनँ ।

विवाहका ३ वर्षमध्येको २ वर्ष उत्साहले बित्यो, मुस्कान र प्रेमले बित्यो । आलिंगन अनि स्पर्शले बित्यो । कहिल्यै आएनन् खाडल, आए पनि विश्वासको माटोले पुरिदिए । तेस्रो वर्ष सुरू भएपछि सुरू भयो भ्रमको पर्दा च्यातिन ।उसले घटनाको कारण संक्षेपमा सुनायो ‘बूढीलाई थाहा नदिएर उसको फेसबुकको पासवर्ड लिएको थिएँ,

करिब एक महिना जसो मैले त्यसको चियो चर्चा गरें, साला मलाई मात्रै माया गर्छे भनेको त के के हो के देख्न पाइयो यार, जति फेसबुकमा उसले गरेको च्याट हेर्दै जान्छु, त्यति बहुलाउँदै जान थालें, अफिसमा काम गर्न सकिनँ, घरमा राम्रो बोल्न सकिनँ, डिप्रेसन भयो अन्ततः एकदिन कुरा खोलें अनि आजबाट मुक्त हुँदैछु ।’

ऊ यस्तो मुक्तिको बाटोमा हिँड्दै थियो, जहाँ उसले स्वतन्त्रता त महसुस गर्नेछ तर, तर त्यसमा रमाउन सक्नेछैन । कुनै कुनै स्वतन्त्रता भन्दा त जेल नै सही !मैले प्रश्न गरें– ‘संसार अटाउने प्रेममा एक दुई वटा च्याट अटाउन सक्नुपथ्र्यो’ उसले मलाई सुन्न चाहेन ।

फेरि थपें– ‘संसारमा कसैले पनि एक जनालाई मात्रै माया गर्छ भन्न सोच अतिवादी हुन जान्छ, बिहे गर्नु भनेको शतप्रतिशत एक जनालाई मात्रै माया गर्नु होइन’ उसले फेरि सुनेन ।मैले उदाहरण दिएँ– ‘श्रीकृष्णको निधन हुँदा स्वेताको अवस्था बुझ न कस्तो थियो, अहिले त फरक छ नि!’

उसको बेवास्थाका बीचमा पनि मेरो वाकयुद्ध रोकिएन ‘तैले च्याट हेर्नुभन्दा अगाडि र पछाडिमा श्रीमतीको व्यवहारमा कुनै परिवर्तन देखिस् त ?’ टाउकोले नाइँ भन्ने जवाफ मात्रै दियो । बजारमा बदनाम नभएर कसैलाई प्रेम गर्न सकिन्छ, रमाउन सकिन्छ । प्रेमको परिधि व्यक्तिले निर्धारण गर्छ ।

समाजले के भन्छ गौण कुरा हो । पढ्दा यी कुरा उग्र क्रान्तिकारी लाग्न सक्छ तर के हाम्रो समाज यो बाटोमा गएकै छैन त ? सबैलाई यसमा राख्न सकिँदैन तर कसैलाई पनि राख्न नसकिने पनि होइन ।मान्छेले मलाई मात्रै कसैले प्रेम गर्छ भन्ने भ्रम पाल्नु व्यर्थ छ । ‘के अब श्रीमतीले आफू हुँदाहुँदै अन्यत्र प्रेम गरेको सहने ?’

उसको मौनता एकैपटक विस्फोट भयो । ‘तेरो कुराका स्पष्ट जवाफ मसँग नहोला तर के तैंले आफ्नो फेसबुकको पासवर्ड दिएको छस् कहिले ? तँ आफूलाई संसारको हरेक मान्छे चाहिने अनि तेरो श्रीमतीलाई तँ मात्रै चाहिने ?’ उसले मलाई बढ्दा नारीवादी देख्यो क्यार ‘तँ जस्तोसँग कुरा गर्नु व्यर्थ छ’ अलि च्याठ्ठेर बोल्यो ।

साथीको कुरामा म शतप्रतिशत सहमत थिइनँ तर समय सल्लाह र सुझाव भन्दा पनि सान्त्वना दिने थियो । हामीले माया गरेको मान्छेले हामीलाई मात्रै माया गर्नुपर्दछ भन्ने छ र ? मान्छेको मन न हो कतिवेला कसलाई माया गर्छ थाहै हुँदैन । फेसबुकमा च्याट हेर्नुभन्दा पहिला साथीले श्रीमतीको प्रेमको कमी महसुस गरेकै थिएन ।

तर अचानक गर्न थाल्यो । श्रीमतीले मलाई मात्रै प्रेम गर्छे भन्ने भ्रमको पर्दा जव च्यातियो तब उसको जीवनको हराभरा एकाएक खण्डहरमा परिणत भयो ।सामान्य तरिकाले मनन गरौं, आजका सुन्दर परिवारहरू जस्तो देखिएका छन् वास्तवमै त्यस्तै छन् त ? हुनुपर्दछ भन्ने एउटा तर्क होला तर छ कि छैन भन्ने तथ्यमा पनि ध्यान दिनु आवश्यक छ ।

‘मेरो होटलमा दिउँसो कोठा माग्न आउने अधिकांश ग्राहक बिहे गरेका नै हुन्छन्’ एक जना होटल साहु सुनाउँदै थिए । तर सबैको परिवार चलेको छ ।उनीहरूले घरभन्दा बाहिर प्रेम गरेर, सम्बन्ध राखेर के परिवार बिग्रेको छ र ? यो प्रश्नको जवाफभन्दा अगाडि अर्को कुरा तपाईं सोच्न सक्नुहुन्छ ।

प्रेमका नाममा के समाजमा सम्बन्धको खिल्ली उडाउने ? मन लाग्दो गर्ने ? यो कुरा भ्रमको पर्दा खुलेपछि मात्रै आउँछन् । यहाँ त कति कुराहरू भ्रमको पर्दा नखोलेरै हराउँछन् ।हामीलाई भ्रममा रमाउने बानी परेको छ । श्रीमान श्रीमतीले एकअर्कालाई मात्रै माया गर्नुपर्दछ भन्ने कुरा सत्ययुगमा थियो होला,

आजको जमानामा त्यसले कुनै पनि सत्यता बोकेको हुँदैन । यो अतिवादी सोच हुन सक्छ तर समाज यही बाटोमा हिँडिरहेको छ । तपाईं पनि यही बाटोमा हिँडिरहनु भएको छ । सोच्नुस् त तपाईंको भ्रमको पर्दा च्यातिएको दिन तपाईंको पारिवारिक सम्बन्ध कहाँ पुग्छ ?

गजल गायक आनन्द कार्कीले गाएको एउटा मिठो गजल छ ‘जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै’ । यो गीतजस्तै धेरै कुरा पर्दा पछाडि नै हुन्छन्, लुकेरै हुन्छन्, अँध्यारोमै हुन्छन् । विभिन्न समयमा विवाह इतरका सम्बन्ध बजारमा आउँदा तपाईंलाई लाग्छ नि ‘यस्तो मान्छेले पनि यस्तो गरेको रहेछ’ त्यो त तपाईंका भ्रमको पर्दा च्यातिएर हो,

त्यस्तो गर्ने मान्छे समाजमा अनगिन्ती छन् तर जीवन चलेको छ । हामीले अनावश्यक कुरामा चियो चर्चा गर्न खोज्दा आफैं दुःखको मुहान खोजेजस्तो हुन्छ । विवाहका कारण तपाईंका जीवनका साथीले तपाईंलाई मात्रै माया गर्छ भन्ने सोच्नु व्यर्थ हुन्छ । कति पय मान्छेको सवालमा यो लागु नहोला तर अव्यवहारिक कुरा भने होइन ।

मसँगको संवाद रोकेर साथीले बाटो ततायो । नजिकै एक महिला बोल्दै थिइन् ‘साले खाते कहाँ–कहाँ जान्थ्यो मलाई थाहा थिएन र? मलाई दोष लगाएर डिभोर्स माग्ने ?’ उनको रिस भर्याङ चढ्दै थियो, ‘उसको मनले धेरैलाई माया गर्ने अनि मेरो मनले केवल उसलाई मात्रै ।’ तातो रिसमा पर्न चाहिनँ, बरु बाटो तताएँ । (सेतोपाटी ब्लगबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *