हालचालै भाटभटेनी देखी केही सामान खरिद गर्नुभएको त छैन?यसरी ठगिनु होला,बेलैमा होस पुर्याउनुहोला।

समाचार

भक्तपुर – नेपालीको महान् चाड दशैँ, तिहार नजिकै आइसकेको छ । दशैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भिड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरूको मनोमानी बढ्दै गएको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो । बजार अनुगमनका क्रममा ठूला व्यापारिक केन्द्रका रूपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्तालाई ठगी गरेको पाइएको छ ।

आज आइतवार बिहान भक्तपुरको सूर्यविनायक क्षेत्रमा भएको अनुगमनमा सेल्सबेरीमा खरिद बिल नै नराखी आफैँले मूल्य सूची टाँसेर सामान बिक्री गरेको पाइएको छ । दैनिक उपभोग्य सामानमा समेत पसलै पिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ । अनुगमन टोलीले विभिन्न सामानको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ भने नापतौलमा फरक परेको पाइएको छ । नापतौलको अनुमतिसमेत नलिएको पाइएपछि तीन दिनभित्र कार्यालयमा उपस्थित भइ सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको छ ।

सूर्यविनायककै मानन्धर हार्डवेयरमा उपभोक्तालाई नाफा छुट नदिइ बिक्री गरेको पाइएको छ । हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड–अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको छ । सूर्यविनायककै चम्पकेश्वर हार्डवेयरको अनुगमनमा सात वर्षदेखि नापतौलको अनुमति नै नलिइ सामान बिक्री गरेको पाइएको छ । आवश्यक बिल बिजकसमेत नराखेको पाइएको छ ।

सूर्यविनायकको दीपु इम्पेक्समा अनुगमन गर्नाका साथै चुनदेवीमा रहेकाे चुनदेवी स्टोरमा गरिएको अनुगमनमा टोलीले कारबाही गरेको छ । चुनदेवी स्टोरको सञ्चालक निलिमा कार्माचार्यलाई तत्कालै १० हजार रुपैयाँ जरिबाना गरेको छ । स्टोरले बिल बिजक देखाउन नसकेको, अत्यधिक फोहर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको, कालोबजारी गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *