श्रीमान घर फर्कने दिन आउँदै थियो। अब म पनि १७ वर्ष पूरा भई १८ वर्षमा प्रवेश गरेकी थिएँ। वैंशमा घोर्ले स्याल पनि राम्रो देखिन्छ अरे।

समाज

सम्झना ताजै छ, मेरो विवाहको भोलिपल्ट म अँगेनामा आगो फुक्दै थिएँ। भान्साकोठा पूरै धुँवामय थियो। आधा घण्टासम्म चुल्हो नबल्दा सासूआमाले चुल्ठोमा समाएर र्‍वाइँ र्‍वाइँ घुमाएको।मेरो बिहे अलि ढिला भयो। १३ वर्ष भइसकेकी थिएँ। माइतमा हुँदा आमालाई भान्सामा सघाउँथेँ। चुल्हो बलेन भने एक बिर्को मट्टितेल खन्यायो, चुल्हो आफैं बल्थ्यो। ढुङ्ग्रीले फुकिरहनै नपर्ने। यही आइडिया घरमा पनि लगाउला भन्ने सोचेँ तर मट्टितेल कतै भेटिनँ। चुल्होछेउ घ्युको भाँडा थियो, अलिकति के चुहाएकी सासूले थाहा पाइहालिन्। कन्चटको रौं कुन्नी कति तिनको हातमा आयो मलाई होशै भएन।

‘हुन्न हुन्न, त्यसो नगर। दुलही सानी छे, विस्तारै सिक्ली’ ससुरा बाले बडो प्रेमपूर्वक भन्नुभयो।‘दुलही घुंघट झार’ भन्दै बाहिर निस्किनुभयो।आफूभन्दा दुई फिट लामो सारीको सप्कोले मुख छोप्दै म फेरि चुल्होतिर घोप्टिएँ। मेरो माइती खासै धनी थिएन, विवाह चाहिँ निकै धनी घरमा भएको थियो। ससुरा गाउँकै पञ्चायतमध्येको एक। मुखिया बा, मान्छे पनि भलाद्मी, सबैले मान्ने। ससुरा बाको ठ्याक्कै उल्टी मेरी सासू। घरमा गाई, भैंसीको कमी थिएन। विघौं विघा खेत, नोकर चाकर, कुनै राजा साहेब भन्दा कम होइन। त्यसैले मैले मेलापातमा धाउनुपरेन। तर भान्सामा चाहिँ मै खटिनुपर्थ्यो। सासूससुरा वैष्णव, अरूले छोएको नखाने, त्यही भएर मलाई बिहे गराइदिएका अरे। तिनलाई भात पकाउन।

बिहे भएको अलिदिनपछि श्रीमानको पढाइ सुरू भयो। बिहे गर्न भनि मात्र आउनुभएको रहेछ। बनारसमा संस्कृत विद्यालयमा पढ्नुहुन्थ्यो उहाँ। ठूला ठूला वेदहरू पढ्ने गर्नुहुन्थ्यो। बाले परीक्षा लिनुहुन्थ्यो, मन्त्र भन्न लगाउनुहुन्थ्यो, पछि ती श्लोकका अर्थ पनि भन्नुपर्थ्यो उहाँले। उहाँ पनि निकै उत्सुक भएर कण्ठै पारेका श्लोक भाका हाली हाली सुनाउनुहुन्थ्यो।

‘स्याबास ! भोलि तैंले भागवत महापुराण भन्नु छ, त्यसैले खुब मेहनत गरेस्।‘हवस्’ उहाँले टाउको झुकाउनुभयो।श्रीमान श्रीमतीको सम्बन्ध कस्तो हुन्छ म जान्दिनँ थिएँ। मैले उहाँसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने भन्ने कुरा माइतमा आमाले सिकाउनु भएको थियो।‘पति भगवान हुन्, तिनलाई पूजा गरे ईश्वरलाई पुजे बराबर फल पाइन्छ।’

म पनि फल पाउने आशामा उहाँको हरेक कुरा मान्थेँ, बिहान उठ्ने बित्तिकै उहाँको खुट्टा ढोग्थेँ। उहाँले खाएको थालमा खान्थेँ। उहाँ मसँग त्यति खुलेर बोल्नुहुँदैन थियो।हेर्दाहेर्दै उहाँको जाने दिन आयो। म जेठानी दिदीसँग मिलेर कोसेली तयार गर्दै थिएँ।‘एकछिन बाहिर आऊ।’ दिदी मलाई हेरी मुसुमुसु हाँस्नुभयो। म लाजले रातोपिरो भएँ। उहाँ समिप पुगेँ।‘तिमीलाई पढ्न आउँछ?’मैले केही जवाफ दिइनँ।‘क, ख, ग, घ पनि आउँदैन?’‘क, ख, ग, घ त आउँछ।’‘कतिसम्म आउँछ?’

मेरो दाजुले पनि पढ्नुहुन्थ्यो। म कहिलेकाहीँ छेउमा बसेर हेर्थेँ। त्यही बेला उहाँले मलाई कदेखि ज्ञसम्म, अदेखि अः सम्म अक्षर चिनाउनुभएको थियो।मैले निकै गर्वका साथ भनेँ, ‘ज्ञसम्म आउँछ।’‘स्याबास!’ पहिलोपल्ट उहाँले मप्रति केही लगाव देखाउनुभएको थियो। मेरो खुसीको सीमा थिएन।‘म अब वनारस जान्छु, ४ वर्षपछि मात्र आउँला। पिताजी मलाई भेट्न बेला बेलामा आउनुहुनेछ। तिमीलाई केही केही सामान पठाइदिउँला, पत्र पठाउँला। राम्ररी बस्नू।’

मैले उहाँलाई पुलुक्क हेरेँ। त्यो समय उहाँको आँखामा विछोडको रोदन थियो कि भविष्यको चिन्ता, जे थियो निकै गह्रुँगो थियो जसले मलाई चित्त बुझाउन साह्रै गाह्रो बनायो। त्यसै त्यसै मन भक्कानिएर आयो। प्रेमको सुरूआत नै नभई उहाँ टाढिन लाग्नुभएको थियो।

म आँगनमा ठिंग उभिएँ। आमाले उहाँलाई रातो टीका र माला लगाइदिनुभयो, सबैसँग बिदा भएर मलाई फेरि हेर्नुभयो र आँखैले बिदा मागेर निस्किनुभयो। त्यति नजिक त भएका थिएनौं हामी, त्यै पनि त्यो बिदाइ मेरा लागि निकै कष्टकर थियो मानौं म उभिएको आँगन भासिँदै छ, मेरो शरीरबाट आत्मा टाढिँदै छ। हेर्दाहेर्दै उहाँको शरीर मेरो आँखाबाट ओझेल पर्‍यो। ‘शोक नमान्! छिट्टै आउला’ भन्दै आमाभित्र जानुभयो।

उहाँ गएपछि म आफ्नै जिन्दगीमा भुलिन थालेँ। सासूससुराको सेवा गर्थेँ। जेठानी दिदीसँग खुब मिल्थेँ। भात भान्साका कामदेखि लुगा वर्तन सबै उहाँसँगै सिकेँ जेठानी दिदीका छोरा थिएनन्। यो दोस्रो पल्ट पनि छोरी नै भई। त्यसैले घरमा कसैकी प्रिय थिइनन्।

हामी दिदीबहिनी मिलेर सासूका कुरा पनि काट्थ्यौं, ‘यी सासूहरू कति निर्दयी हुन्छन् है दिदी! यी पनि त पहिले कसैकी बुहारी नै थिए होलान्। आफूले यस्तो दुःख भोगेपछि त आफ्ना बुहारीले यस्तो दशा भोग्नु नपरोस् भन्ने माहौल पो सिर्जना गर्नुपर्छ त। हामी चाहिँ भोलि सासू भयौं भने बुहारीलाई माया गरौं है दिदी।’‘बुहारी हुन छोरा चाहिन्छ, मेरा छोरा छैनन् तिम्रा के हुने हुन्? तिम्रा पनि छोरी भए भने हाम्रो भविष्य के होला।’ हामी चिन्तित हुन्थ्यौं।

यस्तै दुःख सुखका कुरा गर्दै चार वर्ष बिते।श्रीमान घर फर्कने दिन आउँदै थियो। अब म पनि १७ वर्ष पूरा भई १८ वर्षमा प्रवेश गरेकी थिएँ। वैंशमा घोर्ले स्याल पनि राम्रो देखिन्छ अरे। कुकुरको पुच्छर बांगिएको देख्दा पनि हाँसो उठ्ने उमेर।उहाँको पत्र बेला बेलामा पढ्थेँ। बडो जतन गरी राखेकी थिएँ। सासूले मुख हेर्दा तिलहरी दिएको भाँडामा।

ससुरा बालाई गजलको सौख थियो। बाको गजल म पनि पढ्थेँ, एकदिन मैले पनि गजल कोरेँ ।अरे कोही यो बाटोमा फूल बिछ्याऊ, गएर आरतीको थाली सजाऊ,आज केही खास हुँदैछ।श्रृंगार यसरी गर कि सारा धरती जगमगाओस्,अत्तर पनि छर्क, ताकि प्रेमको सुगन्धले त्यो मन बहकाओस,जरूर केही खास बात हुँदैछ, आज मदहोश यो रात हुँदैछ।डाक्न पठाऊ ती भान्सेलाई, मिष्ठान्न भोजन खुवाउनु छ,

निम्ता गर ती गायकलाई, आज मेहफिल जमाउनु छ।बडा मजेदारको घात हुँदैछ, जरूर केही खास बात हुँदैछ।अनि छोडिदिनु एकान्त यो महललाई, मेरो मनमा गुट्मुटिएका सारा बात बताउनु छ।दिनु पहरा कडा भन्दा कडा, लज्जा र भयको पर्खाल टुटाउनु छ।नसोध्नु यो सब तैयारी आखिर के का लागि? यो साँझले मलाई खुब जिस्काउँदै छ।

मेरो मनमा हर्षको बहार छाउँदै छ, आज मेरो प्यार, मेरो दिल्दार, मेरो यार आउँदै छ…।उहाँको आगमनसँगै मेरो जीवनमा एकपल्ट फेरि खुसी छाएको थियो। गहुँ गोरो वर्ण, लामा लामा हातगोडा, मिलेको शरीर, खाइलाग्दा, लोभलाग्दा हुनुहुन्थ्यो उहाँ। ओठको तल कालो कोठी थियो। खरानी रंगको दौरा सुरूवाल, त्यसमा कालो रङको इस्टकोट, कालो टोपी, कालै जुत्ता म भुतुक्कै भएकी थिएँ।

उहाँले आँखीभौं उचालेर, ‘के छ?’ भनी सोध्नुभयो।मैले लजाएर इशारामै ‘ठिक छ’ भनी जवाफ फर्काएँ।मलाई उपहार आएको थियो रातो फरिया।
उहाँ मलाई बडो प्रेम गर्नुहुन्थ्यो। म पनि केही न केही बहाना बनाएर उहाँको समीप पुग्थेँ। मसँग ठट्टा गर्नुहुन्थ्यो, रमाइला स्वभावका हुनुहुन्थ्यो।

हामी घरका तीन जना स्त्रीले बत्ती कात्थ्यौं, त्यो बत्ती किन्न गाउँका आइमाइहरू आउँथे। तीमध्ये कोही कोही अलि उरन्ठेउला खालका, चाहिने नचाहिने गफ गर्थे। मलाई उनीहरू बत्तीको पैसा तिर्ने बहानामा मेरो श्रीमान छेउ पुगेको कत्ति पनि मन पर्दैनथ्यो।

‘पैसा मलाई नै दिँदा भैहाल्थ्यो नि! हिसाबकिताब त म पनि जानी हाल्थेँ क्यारे!’ म मनमनै मुरमुरिन्थेँ। त्यसै त्यसै रोष जागेर आउँथ्यो। इर्ष्या भएजस्तो। उहाँ पनि के कम, मलाई देखाउनकै लागि भए पनि सबैसँग हाँसेर बोल्नुहुन्थ्यो। प्राय: म उहाँसँग घुम्न निस्कन्थेँ। अलि पर पोखरीको डिलमा बसेर हामी घण्टौंसम्म बात मार्थ्यौं। हाम्रा कुरा ती माछाले सुन्थे।

दिदीका दुइटी छोरी थिए। मेरो चाहिँ छोरा होला भनेर आश गरेका थिए सबैले। श्रीमान फर्केको दुई वर्ष बितिसक्दा पनि हाम्रा सन्तान भएनन्। मलाई बाँझ भनि हेला गर्नुभयो सासूआमाले। योपल्ट बाले पनि आमालाई रोक्नुभएन।

भोर बखत म कसिंगर लगाउँदै थिएँ। घरका सबैजना उठिसक्नुभएछ। श्रीमानका लागि वधू खोज्न बुवा छोरा तयारी अवस्थामा। खनियाँखर्कमा एक जना कन्या छिन् अरे कथित ब्राह्मणकी पुत्री। सर्वगुण सम्पन्न।म स्तब्ध भएँ। अरुले जेसुकै गरे पनि श्रीमानबाट यो अपेक्षासम्म पनि गरेकी थिइनँ। कुचो फुत्त फ्याकेँ अनि रुँदै निस्किएँ।

मलाई घात भएको थियो, कसैले छुरा रापेझैं।त्यही पोखरीको डिलमा पुगेँ, भक्कानिएर रोएँ। मेरा रोदन ती माछाले सुने, ढुंगोले सुन्यो, रेडियो बोकेर लुगा धुन आएका धोबिनीहरूले सुने। त्यही रेडियोमा अरुणा लामाको गीत बज्यो-पोहोरसाल खुसी फाट्दा, जतनगरी मनले टालेँ,त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ,यसपालि त मनै फाट्यो, के ले सिउने, के ले टाल्ने हो…

कति मार्मिक शब्द, मेरै लागि गाइदिएजस्तो।भाग्य फाटे सिउँथे बरू, तर मन सिउने केले हो?हाय यी विरहका भाका, म झण्डै मुर्छा परेँ।पछाडिबाट हस्याङ्फस्याङ् गर्दै छोरी आइपुगी। ‘सानी काकी, काइँला हजुरबा बित्नुभो अरे। जुठो पर्‍यो, हजुरबा पल्लो घर जानुभाछ।’ मैले लामो सास फेरेँ। धन्न काइँला बा बिते र मेरो सिन्दुर जोगियो।मान्छेको मन कति स्वार्थी हुँदो रहेछ।

त्यही वर्ष मेरो कोख भरियो। छोरो भयो र मैले सिन्दुर बाँड्नु परेन। यो सिन्दुरको यात्रा कहाँसम्म हुँदो हो? श्रीमानको सास रहेसम्म कि प्रेम रहेसम्म?यसको मूल्य कति हुन्छ? वैंश तिरे पुग्ने कि छोरै तिर्नुपर्ने?सासू ससुराको माया के हो? बालुवाको घर कि समुद्रको छाल?पोखरीको डिलमा उभिएँ, पानीको छायामा आफूलाई देखेँ, सौभाग्यको निशानी के हो? मेरो रातो फरिया, सिउँदोमा टल्किरहेको सिन्दुर कि उहाँको प्रेम?
आज शनिबार, छुट्टीको दिन, भान्साको जिम्मेवारी श्रीमानको। म चाहिँ घर सफा गर्नतिर लागेँ। सासूआमाको कोठामा पुरानो बाकस थियो, त्यहीँ यो डायरी भेटेँ। आमा आफ्ना जुम्ल्याहा नातिनीहरूलाई दन्त्यकथा सुनाउँदै हुनुहुन्थ्यो। दौडेर आमानिर गएँ।

‘आमा यो डायरी कसको?’आमाले हाँस्दै भन्नुभयो, ‘पढ्यौ हैन अर्काको प्राइभेट लाइफ!’‘आबुई हजुरको कथा हो यो?हजुरले कत्ति कुरा सहनुपरेको। पहिले र अहिलेको सासूमा कस्तो फरक। त्यो जमानामा कति गाह्रो हुँदोरहेछ बुहारीहरूलाई। मैले पनि कति धेरै माया पाएँ हजुरबाट।‘आइ लभ यु आमा।’‘अलिकति माया हाम्ले नि पाउँथेम् कि !’मलाई जिस्क्याउँदै श्रीमान आइपुग्नुभयो।(यो लेख सेतोपाटीमा पहिलोपटक २०७७ चैत २१ गते प्रकाशित थियो)यसमा लेखिएका सबै शब्द सेतोपाटी बाट कपी गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *