दिनदिनै बढ्न थाले भाइरल ज्वरोका बिरामी,बालबालिका सबैभन्दा बढी जाेखिममा(यस्ताे छ तथ्यांक)

समाचार

दिनदिनै बढ्न थाले भाइरल ज्वरोका बिरामी, बालबालिका सबैभन्दा बढी जाेखिममा,(यस्ताे छ तथ्यांक) । जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेकोे स्वास्थ्य सस्थाले जनाएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले अस्पतालमा दैनिक १० देखि १५ ज्वरोका बिरामी उपचारका लागि आउने गरेकोे जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। कृष्ण जोशीले भन्नुभयो, `अस्पतालमा अन्य रोगभन्दा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ, दैनिक आउने ज्वरोका बिरामीका कारण उपचार गर्नमा निकै समस्या हुँदै आएको छ ।´ निजीस्तरका अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ३०-४० प्रतिशत भाइरल ज्वरोको समस्या हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका डा। ललित लिम्बूले बताउनुभयो ।

यहाँका निजी मेडिकल तथा पोलिक्लिनिकमा समेत उक्त रोगका बिरामी बढ्दै गएको महाकाली पोलिक्लिनिक दिपायल राजपुरका स्वास्थ्यकर्मी पदमसिंह महराले जानकारी दिनुभयो ।पछिल्लो केही दिनयता यहाँका गाउँघरमा समेत भाइरल ज्वरोका बिरामी देखिन थालेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोबिन्द विष्टले बताउनुभयो ।

तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरले बताउनुभयो । यस्ता बिरामीलाई झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *