फेरी ठूलो पानी पर्ने सम्भावना।यी ठाउँमा हुनुभएकाहरुलाई सतर्क रहन आग्रह

समाचार

काठमाडाैं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै ‘चार महिना नपुग्दै’ मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भू-भागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ । मुलुकका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार उक्त चार महिनामा मुलुकमा सरदर एक हजार ४०३ मिलिमिटर पानी पथ्र्यो तर अहिले १८ दिनअघि नै एक हजार ५२७ मिलिमिटर पानी परिसकेको छ ।

मौसम विज्ञान विभागको जलवायु विष्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर्थात् आजसम्मको विष्लेषण गर्दा सरदर एक हजार २६८ मिलिमिटर वर्षा हुनुपर्ने थियो तर औसत विवरणअनुसार २६९ मिलिमिटर बढी पानी परिसकेको छ । यो सरदर वर्षाको अनुपातमा आजसम्मको वर्षा विष्लेषण गर्दा १२० दशमलव ४ प्रतिशत हो । उहाँका अनुसार सरदर वर्षाको अनुपात भने ९० देखि ११० प्रतिशतलाई मानिन्छ ।

काठमाडौंमा पनि यसपाली बढी वर्षा भइसकेको छ । विभागका अनुसार काठमाडौंमा आजसम्म सरदर एक हजार ७२ दशमलव ५ मिलिमिटर वर्षा हुनुपर्नेमा आजसम्म एक हजार ३५१ दशमलव २ मिलिमिटर पानी परिसकेको छ । मनसुनको अवधि ‘सेप्टेम्बर अन्तिम’ सम्म एक हजार १७६ मिलिमिटर पर्नुलाई सरदर वर्षा मानिन्छ । अहिले नै वर्षा नाघिसकेको छ । काठमाडौँमा आजसम्मको तुलना गर्दा १२६ प्रतिशत पानी परिसकेको छ । चार महिनाको मनसुन अवधिको औसत निकाल्दा भने यो ११५ प्रतिशत हुन आउँछ ।

प्राप्त विवरणअनुसार जोमसोममा सबैभन्दा बढी वर्षा भएको छ । सरदर १३७ दशमलव १ मिमिमिटर पानी पर्नुपर्नेमा त्यहाँ ३३९ दशमलव ३ मिलिमिटर पानी परिसकेको छ । कँडेलका अनुसार यो सरदरको २५४ दशमलव ८ प्रतिशत हो । यसपाली दोस्रो बढी पानी पर्ने अर्को केन्द्र भैरहवा हो । त्यहाँ १४० दशमलव ७ प्रतिशत वर्षा भएको छ । उहाँका अनुसार आजसम्म एक हजार २४९ दशमलव ८ प्रतिशत सरदर वर्ष हुनुपर्नेमा एक हजार ९२५ मिलिमिटर पानी परिसकेको छ ।

मुलुकमा यसपाली औषधभन्दा बढी वर्षा हुने आँकलनकै बीच भारी वर्षापछिको बाढी, पहिरो र डुबानले ७१ जिल्लालाई नराम्ररी प्रभावित बनायो । मुख्यतः सिन्धुपाल्चोक, मनाङ, पाल्पामा, कास्कीमा, दाङ, पर्वतलगायत एक दर्जन जिल्ला मानवीय र भौतिक क्षतिका दृष्टिले बढी प्रताडित छ । सरकारले मनाङ र सिन्धुपाल्चोकलाई त विपद् सङ्कटग्रस्त जिल्ला नै घोषणा गरेर आवश्यक पुनरुउत्थानका कार्य अघि बढाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *