प्राधिकरणबाट हट्दै कुलमान?यस्तो आयो खबर

समाचार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट न्यायधीश कुमार रेग्मीको इजलासमा परेको छ । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्ति खारेजीकाे माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । हितेन्द्रले दायर गरेको रिटको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार पेशी तोक्ने क्रममा उक्त रिट रेग्मीको इजलासमा तोकिदिएका हुन् ।

रेग्मीको इजलासमा उक्त रिट १० औं नम्बरमा छ । शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत् राख्नुपर्ने माग गरेका छन् ।

सरकारले दिएको जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त शाक्यले सो नियुक्ति अस्वीकार गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कायम रहेको दावी गरेका छन् । कार्यकारी निर्देशक भएर पनि उनले अहिलेसम्म उपकार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छैनन् ।

कुलमान २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका थिए । गत साउन १९ गते नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । शाक्य हट्न तयार भएलगतै सरकारले साउन २७ गते विद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गरेको थियो । प्राधिकरणमा कुलमान नियुक्त हुनेबित्तिकै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता कार्यकर्ताले यसको विरोध गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *