यस बर्षकै सबैभन्दा कम मूल्यमा सुनको कारोबार हुँदै,अझै घट्न सक्ने सङ्केत

अर्थ व्यापार

काठमाडौँ / साताको दोस्रो दिन सोमबार स्थानीय बजारमा सुन सबैभन्दा कम मूल्यमा कारोबार हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार हुनेछ ।यो मूल्य २०७८ सालमा सबैभन्दा कम हो । गत बर्ष चैत १९ गते सुनको भाउ प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने गत बैशाख २ गते ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार हिजो आइतबार ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ८९ हजार रुपैयाँमा झरेको हो ।त्यसयता सुनका मूल्य तोलामा ९० हजार रुपैयाँदेखि माथि रहेकोमा आज भने प्रतितोला एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा झरेको हो । सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ८८ हजार ५५० रुपैयाँ पर्नेछ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको कारण नेपाली बजारमा सुनको भाउ घटेको बताए । अर्थ डबलीसँगको कुराकानीमा उनले विश्व बजारमा रोजगारीको संख्या बढेका कारण सुनको भाउ घटेको जानकारी दिए।

गत जु्लाइको रिर्पोट अनुसार अन्तर्राष्ट्रिय बजारमा रोजगारी दर बृद्धि भएको देखिएको छ । उनले विश्व बजारमा सुनको मूल्य १ हजार ७३० डलरसम्म घट्न सक्ने अनुमान गरिएको हुँदा नेपाली बजारमा पनि सुनको मूल्य अझै घट्न सक्ने बताए ।

यता, चाँदीको मूल्यमा पनि प्रतितोला २५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आइतबार प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *