खुसीको खबर:छोरी जन्मिए बैंक खातामा १५ हजार।

समाचार

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ ।ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए।

“परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले रु १५ हजार बचत गर्छ र त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तीमा रु पाँच हजार वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइन्छ”, उनले भने । उक्त रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो ।उक्त रकम पाउन गाउँपालिकाले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा जाँच गरे नगरेको रिपोर्ट कार्ड अनिवार्यसमेत गराएको छ।

त्यसले गर्दा गर्भावस्थामा जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने गाउँपालिकाको अपेक्षा छ । गर्भवतीले अनिवार्य बर्थिङ सेन्टरमा शिशु जन्माउनुपर्ने छ ।गाउँपालिकाले पहिलो छोरीको खातामा जम्मा गरिदिने उक्त रकमले उनलाई उच्च शिक्षा पढाउने भार पनि कम हुने र बिहेवारी गर्दा लाग्ने खर्चमा समेत राहत पुग्ने गाउँपालिकाको विश्वास छ । नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण गर्दै आइरहेको छ । अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *