नेपालमा कोभिडको तेस्रो लहर सुरु भएको सङ्केत,भर्खरै आयो यस्तो डरलाग्दो खबर

समाचार

नेपालमा कोरोनाभाइरस महामारीको “तेस्रो लहरको लगभग पूर्वार्धमा रहेको सङ्केत देखिएको” बताउँदै औषधोपचारलाई मात्र त्यसबाट जोगिने उपायका रूपमा नहेरी स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको पालनामा जोड दिन एक स्वास्थ्य अधिकारीले सबैलाई सजग गराएका छन्।”हामी यतिखेर तेस्रो लहरको लगभग पूर्वार्धमा आइसकेका छौँ,” स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, “यतिखेर अस्पतालमा कोभिड भएर आउनेको सङ्ख्या फेरि बढ्न थालेको छ।”तर अस्पतालबाहिरको व्यवहार भने महामारी नभएजस्तो परस्पर उल्टो छ।”

देशको एक प्रमुख सरुवा रोग अस्पतालमा सबै शय्याहरू कोभिडका बिरामीले भरिएको बताउँदै त्यहाँका चिकित्सकले त्यसलाई “विगतमा झैँ देशकै अवस्थाको प्रतिविम्ब”का रूपमा बुझ्नुपर्ने बताएका छन्।तर कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भने केही समय अवस्थाको निगरानी गर्ने तर तत्कालै कडा खालको लकडाउनमा जानेबारे नसोचिएको जनाएको छ।काठमाण्डूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा सघन उपचार कक्ष, भेन्टिलेटरदेखि वार्ड पनि कोभिडका बिरामीले भरिएपछि अहिले अस्पताल परिसरमा शय्याहरू थपिएको चिकित्सकहरूले बताएका छन्।

उक्त अस्पतालका क्लिनिकल रिसर्च एकाइ प्रमुख डा. शेरबहादुर पुनले अहिलेसम्म सङ्क्रमित नभएका, खोप नलगाएका र पहिलो लहरतिर सङ्क्रमित भएका मानिसहरू यतिखेर फेरि बिरामीका रूपमा टेकु अस्पतालमा आउने थालेको बताए।विज्ञहरू यसअघि डेल्टा भेरिअन्टबाट सङ्क्रमित भइसकेका मानिसमा “भाइरल लोड” अर्थात् शरीरमा भाइरसको मात्रा उच्च हुने भएकाले उनीहरू सङ्क्रमित भएमा तिनले अरूलाई सार्ने जोखिम पनि उच्च हुने बताउँछन्।

“पहिले सङ्क्रमित नभएका र खोप पनि नलगाएका मानिसहरू त्यसैले अहिले सबैभन्दा जोखिममा छन्। टेकु अस्पतालमा आउनेमा युवाहरूको सङ्ख्या अहिले धेरै छ,” डा. पुनले भने।त्यसैगरी नेपालमा केही सातादेखि दैनिक रूपमा सङ्क्रमण पुष्टि हुने दर २० प्रतिशतभन्दा बढी छ।यद्यपि विश्वमै कोभिड महामारीबाट अतिप्रभावित देशमध्ये शीर्ष दोस्रो स्थानमा रहेको भारतमा विगत ५६ दिनदेखि कोभिड सङ्क्रमित हुने दर पाँच प्रतिशतभन्दा कम छ।

यिनै तथ्याङ्कमाझ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले “केही सातामै कठिन अवस्था आउन लागेको सङ्केत आफूहरूले पाएको” जानकारी दिएका छन्।”साउनयता देशभरि अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्दो छ। यसबीचमा त्यसअघि नै पहिले एक व्यक्तिले एकभन्दा कम वा एक जनाको हाराहारीमा सङ्क्रमण फैलाउने प्रवृत्ति देखिएकोमा अहिले त्यो एकभन्दा धेरै वा दुई जनासम्म पुगेको छ।”सङ्क्रमण दर पाँच प्रतिशतभन्दा उच्च हुनुलाई विज्ञहरूले नियन्त्रण गर्न कठिन अवस्था बताउने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *